दफा ४०
तलब, भत्ता, चाडपर्व खर्च र अन्य सुविधा
(१) कर्मचारीले आफ्नो पदमा बहाली गरेको दिनदेखि नेपाल सरकारको अन्य सरकारी सेवाका समान तहका कर्मचारी सरह तलब पाउनेछ।
(२) दफा ८२ र ८३ मा उल्लिखित अवस्थामा बाहेक कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि जुन पदमा कार्यरत रहेको हो सो पदको शुरु स्केलको एक दिनको तलबभन्दा कम नहुने गरी तलब वृद्धि पाउनेछ । यसरी पाउने तलबवृद्धि संख्या निजामती सेवाका कर्मचारीको सरह हुनेछ । रोक्का भएको तलबवृद्धि फुकुवा भएकोमा सो तलबवृद्धि कुन मितिदेखि पाउने हो सो कुरा सम्बन्धित अधिकारीले लिखित रुपमा जनाई राख्नुपर्नेछ ।
तर यस उपदफा बमोजिम कर्मचारीले पाउने वार्षिक तलबवृद्धिको कुल रकम नेपाल सरकारले निजामती सेवाको सम्बन्धित श्रेणीको लागि तोकेको रकमभन्दा बढी हुने छैन ।
(३) संघीय संसदको अधिवेशन वा बैठक र समितिको बैठक चलेको समयमा काममा संलग्न पदाधिकारी वा कर्मचारीलाई समितिले निर्धारण गरे बमोजिमको रकम थप सुविधाको रुपमा र बढी समय काम लगाउनु परेमा समितिले निर्धारण गरे बमोजिमको खाजा, खाना र ओभर टाइम लगायतका अन्य भत्ता दिन सक्नेछ ।
(४) कर्मचारीको भत्ता तथा अन्य सुविधा समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) संघीय संसदको कुनै काममा खटिएको पदाधिकारी वा कर्मचारीलाई निजले प्रचलित कानून अनुसार पाउने दैनिक भत्ता र भ्रमण भत्तामा समितिले निर्धारण गरे बमोजिमको रकम आवश्यकता अनुसार थप दिन सक्नेछ ।
(६) कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा पाउनेछ ।यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।
(७) निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारीले निजले पाउने एक महिनाको निवृत्तभरण बराबरको रकम चाडपर्व खर्चकोरुपमा पाउनेछ ।
(८) कर्मचारीले प्रत्येक वर्ष संघीय संसदबाट बजेट पारित भएपछि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप पाउनेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “कर्मचारी” भन्नाले संघीय संसदको कामको लागि सचिवालयमा काजमा कार्यरत कर्मचारी समेतलाई जनाउँछ ।
(९) कर्मचारीले पाउने उपचार खर्च, अशक्त वृत्ति, अङ्गभङ्ग भए बापत पाउने सुविधा, असाधारण पारीवारिक निवृत्तिभरण तथा उपदान, पुरस्कार, शैक्षिक भत्ता, आवास भत्ता, सन्ततिवृत्ति, शिशु स्याहार भत्ता र अन्य सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।